काठमाडौं– प्रहरी कर्मचारीका गोप्य विवरणहरु सार्वजनिक गरेको भन्दै हवल्दार दीपक बिष्टमाथि छानबिन अघि बढाइएको छ। प्रहरीका उच्च अधिकारीहरु एआईजी तथा डीआईजीहरुको व्यक्तिगत गोप्य विवरणहरु जन्म मिति तथा सिट रोल सार्वजनिक गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले गोप्य विवरणहरु सार्वजनिक कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए। अनुसन्धानबाट पुष्टि भएपछि विभागीय कारबाही हुने उनले बताए।
केही दिन अघि मात्रै डीआईजी अशोक सिंहको जन्म मिति डेढ वर्ष फरक भएकोदेखि अन्य प्रहरी कर्मचारीको समेत जन्म मिति फरक भएको विषय सार्वजनिक भएको थियो। उक्त विषयमा अनुन्सधान गर्दा प्रहरी कर्मचारी शाखामा कार्यरत रहेका हवल्दारको मोबाइलबाट विवरणहरु सार्वजनिक भएको पाइएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।