काठमाडौं– जिल्ला अदालत काठमाडौंको आदेशपछि स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीनै जना खेलाडी रिहा भएका छन।
बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएका थियो।
आदेशपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेशकुमार गुप्ता तीन/तीन लाख धरौटी बुझाएर रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहालका अनुसार उनीहरुले अदालतले माग गरेको धरौटी बुझाएर रिहा भएका हुन्।
काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी–२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धानपछि मुद्दा दायर गरेको छ।
त्यस क्रममा प्रहरीले आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो। प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेको नवीन कँडेल र रवि माझी भने फरार छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौंमा मु्द्दा दर्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।