काठमाडौं– लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको सर्वसम्मत उम्मेदवार बनाउन प्रयत्नरत रहेका सो पार्टीका नेताहरुले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भेटका लागि लोसपाका नेताहरुको समूह देउवा निवास धुम्बाराही पुगेको थियो।
भेटमा देउवाले सहमतिका लागि उपयुक्त पात्र ठाकुर भएको बताएका लोसपा नेता शरतसिंह भण्डारीले जानकारी दिए। ‘उहाँले ठ्याक्कै के भन्नुभयो भने, महन्थ ठाकुरजी सहमतिका लागि उपयुक्त पात्र हो। तर हामीले हाम्रो पार्टीभित्र छलफल गरिसकेका छैनौँ। हामी पार्टीमा बसेर छलफल पनि गर्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै भण्डारीले भने।
देउवाले अहिलेको परिस्थितिमा कांग्रेसले आधिकारिक हिसाबले ‘फलानो’ उम्मेदवार उठाउने कुरा नभएको स्मरण गराएक थिए। ‘यो नयाँ प्रस्ताव आएको छ। यो प्रस्तावलाई पनि राखेर सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि एउटा उपयुक्त पात्र हो,’ देउवाको भनाइ थियो।
ठाकुरले मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए। मंगलबार नै लोसपा नेताहरुको समूह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेको थियो। तीनै नेताहरुले पार्टीको छलफल र निर्णयभन्दा पहिले नै आफूहरुले निर्णय गर्न नमिल्ने बताएको भण्डारीको भनाइ छ।
प्रधानमन्त्रीले नै मुलुकमा आर्थिक र राजनीतिक संकट रहेको र राष्ट्रपति सहमतिको आधारमा बनाउनुपर्छ भनिरहेको दोहोर्याउँदै भण्डारीले राष्ट्रपतिमा शालिन र भद्र व्यक्ति हुनुपर्ने बताए। ‘विगतमा राष्ट्रपतिले जुन खालको क्रियाकलाप गर्नुभयो। त्यसैले अहिले सालिन र भद्र व्यक्तित्व हुनुपर्यो। सबैले विश्वास गरेको व्यक्ति हुनुपर्यो। र प्रतिबद्ध मान्छे हुनुपर्यो भन्ने खालको चर्चा भइरहेको छ। त्यस आधारमा हाम्रा अध्यक्ष महन्थ ठाकुरलाई अहिले सहमतिका निम्ति उपयुक्त पात्र हुन सक्नुहुन्छ भन्ने ठहर गरेर भेट गरिरहेका हौँ,’ उनले भने।
राष्ट्रपतिको निर्वाचन फागुन २५ का लागि तोकिएको छ। फागुन १३ मा उम्मेदवारी दर्ता हुनेछ। त्यसअघि आकांक्षीहरु र यो निर्वाचनलाई रणनीतिक रुपमा लिइरहेकाहरुले भेटघाट र छलफललाई तीव्र पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।