काठमाडौं– फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले आज (बुधबार) मतदाता नामावली सार्वजनिक गर्दैछ। यस्तै, १३ गते उम्मेदवारहरुको मनोनयनको कार्यसूची छ।
मनोनयनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुबीच राष्ट्रपतिको उम्मेदवारलाई लिएर छलफल र भेटवार्ताहरु बाक्लिएका छन्। सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्र राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा छ भने प्रमुख सत्ता साझेदार नेकपा एमाले आफ्नो पार्टीकै उम्मेदवारका नाममा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा छ।
नेपाली कांग्रेस भने सत्ता गठबन्धनबाट एमालेलाई अलग्याएर राष्ट्रपतिको निर्वाचनमार्फत् सत्ता राजनीतिमा कमब्याक गर्ने रणनीतिमा छ।
राष्ट्रपतिका लागि राजनीतिक हानथाप जारी रहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको सक्रियता पनि बढेको छ। आफूलाई नै राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रस्तुत गरेर ठाकुरले भेटवार्ता बढाएका छन्।
ठाकुरले मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। मंगलबार बिहान ठाकुर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्।
राष्ट्रपतिको उम्मेदवारका विषयमा नेपाली कांग्रेसले कुनै निर्णय नगरेकाले सहमतिका लागि ठाकुरलाई अघि सार्न उपयुक्त हुने भन्दै आफूहरु काग्रेससँग छलफलका लागि देउवा निवास पुगेको लोसपाका नेता केशव झाले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।