काठमाडौं– क्रिकेटर सन्दीप लामिछानले खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका छन्। बुधबार लामिछानेको तर्फबाट रिट दायर हुन लागेको अधिवक्ता सरोज घिमिरेले नेपाल लाइभलाई जानकारी दिए।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ।
सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता घिमिरेले रिट दायर गर्न लागेका हुन्।
नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।
अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। उक्त सर्तअनुसार उनी खेल्नका लागि दुबई जान पाउने छैनन्। त्यहि सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै रिट दायर गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।