काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा रोहित पौडेलले कप्तानी पारी खेलेका छन्। उनको उत्कृष्ट प्रदर्शनसँगै नेपालले स्कटल्यान्ड र नामिबियासँग भएका सवै चारवटै खेलमा जित निकालेको छ।
मंगलबार महत्वपूर्ण खेलमा धर्मराएको नेपालको ब्याटिङ लाइन सम्हाल्दै पौडेलले नेपाललाई जित दिलाएका हुन्। मंगलबारको खेलमा नेपालका लागि कप्तान रोहित पौडेल शतक बनाउन ५ रनले चुके। १ सय १ बलमा अविजित ९५ रन बनाएका उनले ७ चौका र ४ छक्का प्रहार गरे।
अन्य ब्याटर नचलेको समयमा पौडेललाई उनलाई करण केसीले राम्रो साथ दिए। केसीले ३७ बलमा ३१ रनसहित अविजित खेले। करणको बलिङ पनि उत्कृष्ट रह्यो। उनले तीन विकेट लिएका थिए।
स्कटल्याण्डबाट २१३ रनको लक्ष्य पाएको नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो। २० रन नपुग्दै ओपनर आरिफ शेख र कुशल भुर्तेल बाहिरिएका थिए। ३१ ओभर पूरा हुँदा ७ विकेट गुमाइसकेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाएर २१२ रनको योगफल बनाएको थियो।
स्कटल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मुन्सेले अर्धशतकसहित सर्वाधिक रन बनाए। ५० बल सामना गरेका मुन्सेले २ छक्का र ९ चौकासहित ६० रन बनाए।
म्याथ्यू क्रसले ४२ तथा ब्रान्डन म्याकमुलेनले ३१, काइल कोएट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२–२२ रन बनाए।
नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४५ रन खर्चिए। यस्तै, करन केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।