काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको मंगलबारको खेलमा नेपालले खराब सुरुवात गरेको छ। स्कटल्याण्डबाट २१३ रनको लक्ष्य पाएको नेपालले ब्याटिङमा खराब सुरुवात गर्ने क्रममा २० रन नपुग्दै ओपनर आरिफ शेख र कुशल भुर्तेल गुमाएको छ।
७ ओभर पूरा हुँदा दुई विकेटको क्षतिमा नेपालले जम्मा १९ रन बनाएको छ। अहिले ज्ञानेन्द्र मल्ललाई साथ दिन कप्तान रोहित पौडेल आइपुगेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाएर २१२ रनको योगफल बनाएको थियो।
स्कटल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मुन्सेले अर्धशतकसहित सर्वाधिक रन बनाए। ५० बल सामना गरेका मुन्सेले २ छक्का र ९ चौकासहित ६० रन बनाए।
म्याथ्यू क्रसले ४२ तथा ब्रान्डन म्याकमुलेनले ३१, काइल कोएट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२–२२ रन बनाए।
नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४५ रन खर्चिए। यस्तै, करन केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।