बेनी– म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्। बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले १ वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन्। छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको राहुलले सुनाए।
‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ,’ उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन्। हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ।’
राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन्। सो ओढार बेनी बजारबाट करिब १ किलोमिटर नजिकको दूरीमा छ। उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गर्छन्। शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न भने सक्छन्।
‘राहुल विक मेरो भैँसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको १ वर्षजति भयो,’ कुरिलाखर्कका सुरेस ढुङ्गानाले भने, ‘उहाँ काम गर्न सक्दिनँ, मलाई यही ठिक छ भन्नुहुन्छ।’
ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन्। दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ।
उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ। रातमा चितुवाको समेत डर छ। कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन्।
‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो,’ लामिछानेले भनिन्, ‘अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।