काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज (मंगलबार) नेपालले स्कटल्याण्डसँग खेल्दैछ। आईसीसी लिग २ अन्तर्गत नेपाल त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोलीले स्कटल्याण्डको सामना गर्न लागेको हो।
स्कटल्याण्ड लिग २ को च्याम्पियन बनिसकेको छ। यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपमा उसले आफ्नो स्थान पक्का गरिसकेको छ। नेपालले भने लिग २ को शीर्ष ३ टोलीको रुपमा एकदिवसीय विश्वकपमा स्थान बनाउन आफ्ना बाँकी सबै खेलमा जित निकाल्न जरुरी छ।
आईसीसी विश्वकप लिग २ मा नेपालसहित ७ देश सम्मिलित छन्। यो सिरिजमा रहेका हरेक टोलीले ३६ खेल खेल्ने तालिका रहेको छ।
मंगलबार स्कटल्याण्डसँगको खेलमा पनि नेपाल जितको खोजीमा रहने छ। लिग २ को च्याम्पियन बनिसकेको स्कटल्याण्ड पनि सुखद् अन्त्यका लागि जितको खोजीमा रहने छ। स्कटल्याण्डले मंगलबारको नेपालसँगको खेल पछि नै लिग २ ट्रफि पाउने छ।
शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो। जितमा ह्याट्रिक गरिसकेको घरेलु टोली नेपालले यो खेल जितेमा केही कीर्तिमान बनाउने छ। स्कटल्याण्डसँग जित निकालेमा नेपाल २०१९ देखि सुरु आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ। यस्तै, आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चार खेल जितेको रेकर्ड पनि नेपालले कायम गर्नेछ।
लिग २ अन्तर्गत २७ खेल खेलेको नेपालले ११ मा जित र १४ मा हार बेहोरेको छ। नेपाल २४ अंकका साथ छैटौं स्थानमा छ। बाँकी रहेको ९ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ। शीर्ष ३ मा पर्दै सोझै विश्वकप छनोटमा स्थान बनाउन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ।
स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ। गत बुधबार नामिबियासँगको जितपछि स्कटल्याण्ड ३ खेल अगावै विश्वकप लिग २ को च्याम्पियन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।