काठमाडौं- बालाजुमा भएको लुटपाटको घटनामा छानबिन गर्न गठित समितिले बालाजु र सोह्रखुट्टे वृत्तका डिएसपीद्वय रविन विष्ट र गणेशबहादुर बमलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।
समितिले आज प्रतिवेदन बुझाउँदै बालाजुमा कार्यरत डिएसपी विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी बमलाई कारबाही गर्न सिफारिस गरेको हो। घटना हुनुमा बालाजुका विष्ट र बमको फिल्ड व्यवस्थापकीय भूमिका कमजोर देखिएको ठहर गरिएको छ।
‘जुन घटना भयो, त्यसमा डिएसपीद्वय विष्ट र बमको कमजोरी देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘उनीहरुलाई विभागीय कारबाहीको लागि सिफारिस गरिन्छ।’
फागुन १ गते बालाजुमा भएको लुटपाट र प्रहरीको गाडी आगजनीको घटना छानबिन गर्न समिति गठन गरिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)को संयोजक्तवमा ५ सदस्यीय समिति गठन गरेको थियो। डीआईजी मसाउद आलम खाँको नेतृत्वमा समिति गठन गरिएको हो।
समितिमा डीआईजी खाँसहित उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल सहितको टोली थियो।
यातायात मजदुरहरुले विभिन्न १० बुँदे माग राख्दै आन्दोलन गरेका थिए। सो क्रममा तोडफोड, आगजनी, लुटपाट समेत भएको थियो। प्रहरीका दुई वटा भ्यान जलाएको आरोपमा प्रहरीले ६ जना र लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।