काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा भएको स्पट फिक्सिङमा संलग्नमध्ये नेपालीलाई मात्रै मुद्दा चलाइएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले फिक्सिङमा नेपालीसहित १० जनाको संलग्नता रहेको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो।
पछि अनुसन्धानका क्रममा थप दुई जनाको भूमिका पनि संकास्पद देखिएपछि उनीहरु पनि अनुसन्धानमा तानिएका थिए। योसँगै स्पट फिक्सिङमा जम्मा १२ जनाको संलग्नता रहेको खुलेको थियो। उनीहरुमध्ये ५ जना नेपाली थिए भने ७ जना विदेशी थिए।
तर, जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दर्ता हुँदै गर्दा सबै सातै जना विदेशीलाई उन्मुक्ति दिएर ५ नेपालीविरुद्ध मात्रै मुद्दा दायर गरिएको छ।
पाँच नेपाली मध्ये नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी मेहबबु आलम, राष्ट्रिय टोलीका अलराउण्डर मोहमद आदिल आलम र वीरगञ्जका क्रिकेटर नितेश गुप्ता भनिने नितेश साह पक्राउ गरेका थिए। पक्राउ परेका यी तीन जना र फरार काठमाडौंका नवीन कँडेल र सप्तरीका रवि माझीविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ।
तर, फिक्सिङमा संलग्न रहेको भनिएका मुख्य योजनाकार तथा लिग सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलगायतका ७ जनालाई नै भने मुद्दै नचलाई उन्मुक्ति दिइएको छ।
उनीहरुको हकमा अभियोगपत्रमा उल्लेख गरिएको छ, ‘भारतीय नागरिकहरु समिर शेख, वीरेन्द्र साह, विकास ध्यानी, जतिन अहलुवालिया, अभिषेक सक्लानी, राहुल शर्मा र आन्द्रे म्याक्यार्थीको एकिन नामथर नुखलेका कारण नामथर खुलेका बखत मुद्दा दर्ता हुनेछ।’
जबकी स्पट फिक्सिङ तथा बेटिङको मुख्य योजनाकार नै सञ्चालनको जिम्मा पाएको सेभेन थ्री स्पोर्टस् रहेको बताइएको छ। तर त्यसका मालिक अहलुवालियासहितका भारतीय व्यक्तिलाई भने उन्मुक्ति दिएर नेपालीविरुद्ध मात्रै मुद्दा दर्ता गरिएको छ।
उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कसुर अन्तर्गत मुद्दा चलाइएको छ। ऐनको दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ।
यसको व्याख्या गर्दै भनिएको छ, ‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेल प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामले प्रतिकूल हुनेगरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन।’
स्पट फिक्सिङ गरेको पुष्टि भएमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।