काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगञ्जका क्रिकेटर नितेश गुप्ता भनिने नितेश साहलाई समेत पक्राउ गरेर अनुसन्धान गरेको थियो। फिक्सिङमा संलग्नता रहेको भन्दै हिरासतमा लिएर अनुसन्धान गरिएका साहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
साहले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। प्रहरीलाई दिएको भनेर अभियोगपत्रमा उल्लेख भएको बयानमा उनले घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन्।
यस्तो छ नितेशको बयान:
मेरो सानी आमाको देवर वीरेन्द्र साह (मौसा) मेरो घरमा आइ तिमीले मलाई आरिफ शेखसँग भेट गराइदिनु पर्यो, उनीसँग क्रिकेटको विषयमा कुरा गर्नु छ भनि मलाई भनेको थिए। मैले मेरो छिमेकी दाजु आरिफ शेखसँग सम्पर्क गरी सानो बुवाले तपाईंसँग भेट गर्न खोज्नु भएको छ, तपाईंलाई कहाँ भेट्न सकिन्छ भनि सोधेकोमा उनले ललितपुरमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमी, हात्तीवनमा भेट्न सकिने बताएका थिए।
मैले उक्त क्रिकेट एकेडेमीको लोकेसन पठाउनको लागि अनुरोध गरेकोमा आरिफ शेख दाजुले क्रिकेट एकेडेमीको लोकेसन समेत पठाइ दिनुभएको थियो। सो पश्चात मैले वीरेन्द्र साहलाई वीरगंजबाट साथमा काठमाडौं ल्याइ मिति पुस ७ गते हामी दुबैजना ललितपुरको हात्तीवनमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गइ आरिफ शेखसँग भेट गरेका थियौँ।
भेटको क्रममा हामी ३ जनासँगै रहेको समयमा वीरेन्द्र साहले हामी मिलेर सुरु हुन लागेको लिगमा राम्रो कमाउन सक्न हिट विकेट भनि कुरा गरेकोमा आरिफ शेखले उक्त प्रस्ताव तत्काल अस्वीकार गरी हामी दुबै जनलाई गाली गरी पठाउनुभएको थियो।
सो पश्चात मैले म आरिफ शेख दाजुलाई ह्वाट्स एपमा ‘भैया’ भनि म्यासेज गरेको थिएँ। वीरेन्द्र साहले क्रिकेटको के–कुन विषयमा कुराकानी गर्ने हो भनि मलाई नबताएको कारण मैले वीरेन्द्र साहलाई आफ्नो साथमा लिएर गइ आरिफ शेखसँग भेट गराईदिएको हुँ। तर मैले आरिफ शेखलाई एप्रोच गरेको छैन। ललितपुर हात्तीवनमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा पुस ७ गते भेट भएको समयमा वीरेन्द्र साहले सुरु हुन लागेको लिगमा राम्रो कमाउन सकिने र त्यसका लागि आरिफ शेलाई हिट विकेट भन्ने मात्र सुनेको हुँ। उक्त कुरा आरिफले अस्वीकार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।