काठमाडौं– नेपाल टी–२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङका एक आरोपी राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलमले फिक्सिङ घटनाबारे आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) समक्ष उनले इन्कारी बयान दिएका हुन्। अभियोग पत्रमासमेत आदिलले इन्कारी बयान दिँदै कम्मर दुखेका कारण नो बल र वाइड भएको बताएका छन्।
उनीसहित १२ जनाको मुद्दा अहिले जिल्ला अदालत काठमाडौं चलिरहेको छ। अभियोग पत्रमा उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
यस्तो छ आदिलको बयान
भारतका समिर शेख भन्ने व्यक्तिले नेपाल टी–२० लिगमा म पनि खेल्न लागेको थाहा पाएपछि मलाई ह्वाट्सएपमा हेलो भनि मेसेज पठाएका थिए। त्यसपछि फोन गरेर मेरा लागि एउटा नो–बल र वाइड फालिदेउ र सो बापत १ लाख रुकम दिन्छु भनि प्रस्ताव गरेका थिए।
तर मैले तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भन्दै उनीसँग कुरा गर्न छाडिदिएको थिएँ। मैले उनको ‘एप्रोच’ तत्कालै अस्वीकार गरेको र उनले भनेअनुसार खेल खेलेको पनि छैन। सो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाईसमेत जानकारी गराएको थिएँ।
सन् २०२२ डिसेम्बर २६ मा भएको खेलमा बाँया भागको कम्मरको नशामा समस्या आएपछि मैले तत्काल टिम कोचलाई जानकारी गराएँ। पछि हाम्रो टिमको फिजियोथेरापिष्ट कर्मा छोडोन गुरुङले सामान्य उपचार गरिसकेपछि म पुन: खेल खेल्नको लागि मैदानमा गएको थिएँ। सो पश्चातको खेलमा पनि मैले अल राउण्डरको रुपमा खेल खेल्दै बलिङ गरेको थिएँ।
हाम्रो टिममा तीव्र गतिको बलर नभएको कारण मलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएका कारण बलिङ गरेको थिएँ। मेरो बायाँ भागको कम्मरमा समस्या आएकै कारण २०७९ पौष १२ गते सम्पन्न भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र १४ गते भएको जनकपुर रोयल्स र फार वेष्ट यूनाइटेडबीचको खेलको छैठौं ओभरमा दुखाइको कारण एक नो–बल र एक वाइड बल भएको हो।
मैले समिर शेखले भने अनुसार बलिङ गरेको होइन। समिर शेखले भने बमोजिम नो–बल र वाइड बल गरिदिएमा मलाई १ लाख रुपैयाँ दिने प्रस्ताव भने गरेका थिए। सामान्य रकम प्रस्ताव गरेको हुँदा उनले मसँग मजाक गरेका होलान् भन्ने सोचेर मैले गम्भिरतापूर्वक लिएको थिइन्।
खेलकै दौरानमा (मलाई कल आएको एक/दुई दिनपछी) विभिन्न सञ्चार माध्यमहरुमा म्याच फिक्सिङ र स्पट फिक्सिङका बारेमा समाचार प्रकाशन प्रशारण भएको र सर्वसाधारणहरुसमेतले यस बारेमा चर्चा गरेपछि समिर शेखले मलाई पनि फिक्सिङमा प्रयोग गर्न खोजेका हुनसक्छन् भनि क्रिकेट संघका म्यानेजर विनोद दासलाई उक्त प्रस्तावबारे जानकारी गराएँ।
उनको सल्लाह अनुसार नै भोलिपल्ट एन्टी करप्सन म्यानेजर वीर सिंहलाई जानकारी गराएको हुँ। मैले समिर शेखले भने अनुसार खेल नखेलको र उनीबाट मैले रकमसमेत लिएको छैन। तर, समिर शेखले मजाक–मजाकमा नो–बल र वाइड बल फाल्न भनेपछि उनलाई मैले अब यस्तो नगर्नु भनि चेतावनीसमेत दिइ उनीसँग कुरा गर्न छाडेको थिएँ। तर उक्त खेल अवधिमा मलाई कम्मर दुख्ने समस्या आएकोले मैले बलिङ गर्दा सामान्यभन्दा फरक नो–बल र वाइड बल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।