फैजाबाद– भारी वर्षाका कारण हिमपहिरो र बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ। लाखौंको भौतिक सम्पत्ति नष्ट भएको छ भने सयौं मानिस घरबारविहीन भएका छन्।
प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले देशको उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा शनिबार दिउँसो भीषण वर्षा भएको जानकारी दिँदै जिल्लाको चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर, २५ पसल र छ सय एकड जमिन पूर्णरुपमा ध्वस्त पारेको बताएका छन्।
साथै उनले पीडित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन्। विपद् पीडित परिवारलाई बेवास्ता गर्दा उक्त गाउँमा थप विपत्ति निम्तने चेतावनी उनले दिएका छन्।
केही दिनअघिको भूकम्पले प्रान्तीय राजधानी फैजाबादमा र बाहिरका ७५ आवासीय घर ध्वस्त पारेको थियो। अफगानिस्तानमा पछिल्लो एक महिनामा भारी हिमपात र हिमपहिरोका कारण बालबालिकासहित करिब दुई सय जनाको ज्यान गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।