काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्वराजासँग कुन मुद्दाका लागि सहकार्य गर्ने? भन्दै प्रश्न उठाएका छन्। आइतबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सहकार्यको सम्भावना पनि नरहेको प्रष्ट पारे।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले वक्तव्य जारी गर्दै देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासको साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताएका थिए। गुरुङले पूर्वराजाको प्रस्ताव औचित्यपूर्ण नरहेको टिप्पणी गरे।
गुरुङले शाहको विचारमा आत्मसातीकरण नभएको, संविधान र गणतन्त्रको बारेमा आत्मसातीकरण नभएको बताए। ‘सहकार्यका लागि त लोकतन्त्रको रक्षाका लागि पनि सहकार्य हुनुपर्यो। राष्ट्रियताको रक्षाका लागि पनि सहकार्य हुनुपर्यो। संविधानको रक्षाका लागि पनि सहकार्य हुनुपर्यो। मूलभूत मुद्दा त यिनै हुन्’, उनले भने, ‘यी मुद्दाहरुमा समान धारणा हुनेहरुको बीचमा सहकार्य गर्दै अगाडि बढ्ने कुरा हो। त्यसैले उहाँको त्यो वक्तव्य अहिलेको राष्ट्रिय राजनीतिको सन्दर्भमा मुलुकको अग्रगामी परिवर्तनका लागि, मुलकको स्वाधिनताको रक्षाका लागि त्यति औचित्यपूर्ण छ भन्ने लाग्दैन।’
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
उनले राष्ट्रियताको मुद्दा आन्तरिक लोकतन्त्रसँग पनि सम्बन्धित हुने बताए। ‘कोरा राष्ट्रवाद भन्ने त हुँदैन नि त। राष्ट्र भनेको जनता हो। जनताको हक र अधिकारहरुलाई पनि समुचित ढंगले सम्बोधन गरेर बृहत् रुपमा जनतालाई एकताबद्ध गर्न सकियो भने मात्रै बल्ल राष्ट्रियता रक्षा हुने हो। लोकतन्त्रलाई निषेध गर्न खोज्ने, अनि राष्ट्रियताको मात्रै कुरा गर्न खोजेर त, त्यो त कोरा राष्ट्रवाद हुन्छ। कोरा राष्ट्रवादले नेपालको रक्षा हुँदैन भन्ने त घटनाक्रमले पुष्टि गर्दै आइरहेको छ। त्यसैले शाब्दिक रुपमा मात्रै राष्ट्रियताको कुरा उठाएर मात्रै हुँदैन’, गुरुङले प्रष्ट पारे।
उनले नेपालको राजनीतिक प्रक्रियामा आन्तरिक लोकतन्त्रको विषयलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताए। उनले मुलुकमा गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशीता स्थापना भएको भन्दै सबै वर्ग समुदायलाई लोकतान्त्रिक अधिकार स्थापना गर्दै लैजानुपर्छ भनिएको बताए।
उनको भनाइ छ, ‘त्यसो गरेर मात्रै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईदेखि हिमालसम्मका जनतालाई एक हदसम्म समानताका आधारमा एकता पैदा गर्न सकिन्छ। अनि त्यो समानताका आधारमा एकता पैदा गर्न सकिने, त्यो अधिकारको आधारमा एकता पैदा गर्न सकिने आधारचाहिँ भत्काइदिने। अनि कोरा राष्ट्रियताको नारा मात्रै उठाएर त केही अर्थ छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।