एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप–कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले दक्षिण अफ्रिकामाथि कीर्तिमानी जित दर्ता गरेको छ । यो संगै पाकिस्तान त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको छ ।
रनको बर्षा भएको खेलमा जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि सन् २०२३ मा घरेलु मैदान लाहोरमै अष्ट्रेलियाविरुद्ध ३ सय ४९ रनको लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तानको जितमा सलमान अघाले १ सय ३ बलमा १६ चौका र २ छक्कासहित १ सय ३४ रनको शतकीेय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । उनले ओडीआईमा पहिलो शतक हानेका हुन् ।
कप्तान मोहम्मद रिजवान १ सय २८ बलमा ९ चौका र ३ छक्कासहित १ सय २२ रनमा अविजित रहे । एक समय १०.४ ओभरमा ९१.३ को अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सलमानले २ सय २९ बलमा २ सय ६० रनको साझेदारी गरेका थिए ।
यो पाकिस्तानी ब्याटरले ओडीआईमा चौथो विकेटलाई गरेको उच्च साझेदारी हो । यसअघि चौथो विकेटलाई सन् २००९ मा सोएब मलिक र मोहम्मद युसुफले भारतविरुद्ध २ सय ६ रनको साझेदारी गरेका थिए ।
ओपनर फखार जमान २८ बलमा ६ चौका र १ छक्कासहित ४१, बाबर आजम १९ बलमा ४ चौकासहित २३ र साउद सकिल १५ रनमा आउट भए । दक्षिण अफ्रिकाका वियान मुल्डरले २, लुंगी एनगिडी र कोब्रिन बोचले १÷१ विकेट लिए ।
त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २, नसिम साह र खुसदील शाहले १÷१ विकेट लिए । फाइनलमा शुक्रबार न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।