प्यूठान– पाँचौं स्वर्गद्वारी–प्यूठान महोत्सव बिहीबारदेखि सुरु भएको छ। महोत्सवको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विजुवारस्थित खेलमैदानमा उद्घाटन गरे।
उद्घाटनपछि उनले हरेक कुरामा परनिर्भर हुँदा देशको अर्थतन्त्र समस्यामा परेको बताए। निर्यातभन्दा आयात बढी हुँदा अर्थतन्त्र संकटमा परेको उनको भनाइ थियो।
मुख्यमन्त्री गिरीले संघीय सरकार अर्थतन्त्र सुधारको विषयमा नीति बनाउन क्रियाशील रहेको बताउँदै देशमा देखिएको अर्थतन्त्रको समस्या तीन महिनाभित्र समाधान हुने दाबी गरे।
अर्थतन्त्र सुधार्न कृषि, पर्यटन र ऊर्जा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने गिरीले बताए। उनले कृषि उत्पादन र पर्यटनको विकासबाट आत्मनिर्भर हुन सकिने धारणा राखे।
कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसिराम शर्माले जिल्लाको कला, संस्कृतिको संरक्षण र सम्वर्द्धनसँगै दिगो विकास र व्यवसायमा यस्ता महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १० दिनसम्म चल्नेछ। उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका दुई सय ५० स्टल रहेको महोत्सवबाट आठ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।