काठमाडौं– गत माघ १ गते काठमाडौंबाट चालक दलका ४ सहित ७२ जना सवार यती एअरलाइन्सको विमान दुर्घटना जाँच गर्न गठित आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।
यती एअरको ९ एन–एएनसी एटीआर–७२ विमान माघ १ गते बिहान १०:५७ मा पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो। जसमा विमानमा सवार ७२ जनाकै ज्यान गएको थियो। आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै दुर्घटनाका मुख्य ३ वटा कारण औंल्याउँदै आगामी अनुसन्धान त्यसैमा केन्द्रित हुने बताएको छ।
प्रतिवेदनले विमान अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदरमा गएपछि विमान भुइँमा झर्न पुगेको बताएको छ। यस्तो, अवस्थामा प्रोपेलर (ब्लेड)सँग इन्जिनको पावर नजोडिने हुँदा दुर्घटना हुने विज्ञहरु बताउँछन्।
यस्तै, मानविय कारण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा एकैसाथ सञ्चालन हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भिजुअल दृष्टिकोणका प्रक्रियाहरुबारे पर्याप्त अनुसन्धान नहुँदा विमान दुर्घटना भएको हुनसक्ने आयोगले औंल्याएको छ। आयोगले अब उल्लेखित ३ विषयका वरिपरी बसेर अनुसन्धान अघि बढाउने छ।
यस्तै, पोखरा एयरपोर्टले पूर्वतर्फको रन वे–३० मा जहाज अवतरण गर्न दिएको अनुमतिलाई परिवर्तन गरेर चालक दलले रन वे–१२ मा अवतरण गर्ने अनुमति मागेको थियो। सोहि रन वे–१२ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्ययन गर्न सरकारलाई सिफारिस पनि गरेको छ।
पोखरामा भएको दुर्घटनापछि नेपाल सरकारले पूर्व सचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो। सोही आयोगले विमानमा रहेको फ्लाइट डेटा रेकर्डर (एफडीआर) र ककपीट भ्वाइस रेकर्डर (सीभीआर) का आधारमा तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।