काठमाडौं– नेपाल नेत्रज्योति संघ र सीबीएम ग्लोबलबिच आपसी सहकार्य गर्ने सम्झौता भएको छ। प्रदेश १ र मधेस प्रदेशमा गरिबिको रेखामुनि रहेका आमनागरिकहरुलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुबिच सम्झौता भएको हो।
सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र सीबीएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सीबीएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो।
सीबीएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा तथा कान उपचार कार्यक्रममार्फत प्रदेश १ र मधेश प्रदेशका सीमान्तकृत समुदायका र गरिबीको रेखामुनि रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ।
दुई संस्थाहरुबिचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ।
नेत्रज्योति संघ र सीबीएम ग्लोबलकाबिचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गर्न ४० वर्षदेखि सहकार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।