काठमाडौं– फागुन १ गते बालाजुमा भएको लुटपाट र प्रहरीको गाडी आगजनीको घटना छानबिन गर्न समिति गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)को संयोजक्तवमा ५ सदस्यीय समिति गठन गरेको हो।
डीआईजी मसाउद आलम खाँको नेतृत्वमा समिति गठन गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले जानकारी दिए। समितिमा डीआईजी खाँसहित उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालसहितको टोली छ।
उनीहरुलाई यथासक्दो छिटो छानबिन सकेर प्रतिवेदन बुझाउनका लागि निर्देशन दिइएको छ।
यातायात मजदुरहरुले विभिन्न १० बुँदे माग राख्दै आन्दोलन गरेका थिए। सो क्रममा तोडफोड, आगजनी, लुटपाट समेत भएको थियो।
प्रहरीका दुई वटा भ्यान जलाएको आरोपमा प्रहरीले ६ जना र लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।