सिरहा– सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मंगलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।
जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो। उनका अनुसार चार केजीको चाँदीको जलहरी र अन्दाजी तीन हजार रुपैयाँसहितको दानपेटीका मन्दिरबाट चोरी भएको छ।
प्रहरीका अनुसार चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन। ‘मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामेराको रिसिभर पनि चूँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ’, निमित्त प्रवक्ता शाहले भने, ‘प्रहरीले अन्य विधिबाट चोरी गर्ने समूहको खोजी तीव्र पारेको छ।’
चोरी भएको दानपेटीका भने मन्दिरभन्दा करिब डेढ सय मिटर पर फुटाएर त्यसमा रहेको पैसा लिएर गएको अवस्थामा फेला परेको शाहले जानकारी दिए। चोरी भएको चाँदीको जलहरी पाँच लाख बढी मूल्य पर्ने बताइएको छ। विशेषगरी साउनको सोमबारमा यस मन्दिरमा धेरै टाढाटाढाबाट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।