काठमाडौं– बजारमा म्याद गुज्रिएका बियर छ्यापछ्याप्ती भेटिन थालेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक रुपमा यस्ता म्याद गुज्रिएका बियरहरु बरामद गरिरहेको छ।
मंगलबार मात्रै करिब ६० लाख मूल्य बराबरको २१ सय कार्टुन डेट एक्सपायर बियर बरामद गरेको विभागले बुधबार पुन: ६५७ कार्टुन बियर बरामद गरेको छ।
अनुगमन टोलीले बुधबार म्याद गुज्रिएका टुबोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका ३५५ कार्टुन बियर बरामदर गरेको हो।
उक्त बियर काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित संस्कार ट्रेडर्स प्रालिको गैह्रिगाउँमा रहेको गोदामबाट बरामद गरेको हो।
आवश्यक कारबाहीका लागि उक्त गोदाम शिलबन्दी गरिएको विभागले जनाएको छ। उक्त बरामद बियरको मूल्य करिब १३ लाख ९० हजार अनुमान गरिएको छ।
यस्तै म्याद गुज्रिएका टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्स बर्ग ब्राण्डका करिब ३०२ कार्टुन सिनामंगलस्थित सिके ट्रेडिङडको गोदामबाट बरामद गरेको छ। उक्त बियरको मूल्य करिब ८ लाख ७५ हजार रहेको विभागले जनाएको छ।
दुई गोदाममा छापा मार्दा शिलबन्दी गरिएका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिन्छ। यस्ता बियरहरु विशेषगरी भोजभतेर र रात्रिकालीन रेष्टुरेन्टहरुमा प्रयोग हुँदै आएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।