काठमाडौं– यातायात मजदुरको आन्दोलनमा प्रहरीको गाडी आगो लगाउने तथा प्रहरी विट तोडफोड गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा पहिचान गरी उक्त कार्यमा संलग्नहरुमध्ये ६ जनालाई विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमध्ये उदयपुरको बलमता गाउँपालिका–२ घर भइ हाल काठमाडौंको तारकेश्वर–१० बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गागाउँपालिका–३ घर भइ काठमाडौंको टोखा–३ बस्ने ३० वर्षीय रामहरि भण्डारी र लमजुङको बेशीशहर नगरपालिका–५ घर भइ हाल काठमाडौंको तारेकश्वर–१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।
यस्तै काभ्रेपलाञ्चोकको मानेडाँडा गाउँपालिका घर भइ हाल काठमाडौं–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्यूठानको कडी गाउँपालिका–१ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने १८ वर्षीय दीपेन्द्र पुन मगर र काभ्रेपलाञ्चोकको भुम्लु घर भइ हाल काठमाडौंको गंगाहाल बस्ने २० वर्षीय आशिष खड्का रहेका छनु।
नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार उपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै उक्त घटनामा संलग्न अन्य ९/१० जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको थियो भने एक गाडीमा आगजनी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।