काठमाडौं– केही व्यक्तिहरुको लिखित कीर्ते गरी नक्कली स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) बनाउने गिरोह नै समातिएको छ।
गत माघ २९ गते राति रामशाहपथबाट नक्कली लाइसेन्ससहित पोखराकी कञ्चन गुरुङ पक्राउ परेकी थिइन्। उनले गंगा तामाङ नामबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउन लगाएको पाइयो।
साथै प्रहरीले गुरुङमाथि केरकार गरेपछि यस्तो कार्य सामूहिक रुपमै हुने गरेको पाइएपछि प्रहरीले यस्तो कार्यमा संलग्न अरुलाई पनि खोज्न थाल्यो।
प्रहरीले उक्त कार्यमा संलग्न भएको भन्दै फागुन १ गते अनिल राईलाई सामाखुसीबाट र राजन तामाङलाई बालाजुको पैयाँटारबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा कञ्चन गुरुङले स्मार्ट लाइसेन्स बनाउनका लागि गंगा तामाङको नामको लाइसेन्स, आफ्नो फोटो र पाँच हजार रुपैयाँ अनिल राईलाई दिएको पाइएको छ।
अनिलले कञ्चनले दिएको पाँच हजारमध्ये एक हजार पाँचसय आफूले राखेकझ र ३ हजार पाँचसय रुपैयाँ, फोटो र कागजात राजन तामाङलाई दिए।
राजनले उक्त रकम राखेर गंगा तामाङको सवारी चालक अनुमतिपत्रमा कञ्चन गुरुङको फोटो टाँसेर नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाइदिएको खुलेको हो।
कञ्चनको मात्र नभइ राजनले अन्य व्यक्तिहरुलाई समेत त्यसरी नै नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।