काठमाडौं– काठमाडौंको बालाजु तथा माछापोखरी क्षेत्रमा प्रहरीकै गाडीमा आगजनी र लटुपाटको घटनापछि प्रहरी महानिरीक्षक (आईजी) धीरज प्रताप सिंहले कानुनसम्मत तरिकाले बल प्रयोग गर्न निर्देशन दिएका हुन्। काठमाडौं उपत्यकाका प्रहरी कार्यालय, ३ वटै जिल्लाका प्रहरी परिसर, वृत्त र प्रभाग प्रमुखहरुलाई बोलाएर आईजी सिंहले कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन्।
कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढी सक्रिय भइ आ–आफ्नो जिम्मेवारी वहन गर्दै कार्यसम्पादन गर्नुपर्ने सिंहले उल्लेख गरे।
आम नागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था प्रहरी नै भएको बताउँदै आईजी सिंहले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनू।’ आईजी सिंहले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन समेत निर्देशन दिए।
प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शीतामा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताए। फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा संचालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्ने समेत सिंहको भनाइ छ।
सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताए।
यस आर्थिक वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय प्रगती भएको चर्चा गर्दै उनले उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागहरूको सुधारको लागि उपत्यका प्रहरी कार्यालयबाट आवश्यक जनशक्ति परिचालन गरिएको र हालैका घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइने बताए।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।