काठमाडौं– बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै खेल्न दिइएको विषयमाथि सदनमा प्रश्न उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले एउटा बलात्कार आरोप लागेको व्यक्तिलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? भन्दै प्रश्न गरेकी हुन्।
‘सन्दीप लामिछानेको मुद्दा हेरौँ। कहिलेसम्म छिनोफानो गर्छौँ? यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो? राष्ट्रको प्रतिनिधित्व भएको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला?,’ उनको प्रश्न थियो।
उनले यही प्रकरणका कारण पीडितहरुलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको पनि बताइन्।
श्रेष्ठले न्यायपालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी हुनुपर्ने बताइन्। ‘सबैको पहुँचमा हुनुपर्यो। त्यसो नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको छ,’ उनले भनिन्।
गत भदौमा बलात्कार आरोप लागेका लामिछाने हाल राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै क्रिकेट खेलिरहेका छन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल, नामिबिया र स्कटल्याण्डबीचको खेल चलिरहेको छ। फेब्रुअरी १४ देखि सुरु भएको खेल फेब्रुअरी २१ सम्म चल्नेछ।
लामिछानेलाई टिममा राखेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)को पनि आलोचना भइरहेको छ। केही दिनयता सामाजिक सञ्जालमा बलात्कार आरोपीले आफ्नो प्रतिनिधित्व गर्न नसक्ने भन्दै ‘बायकट क्यान’ भन्ने अभियान नै चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।