काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी नीति नियम व्यावहारिक नहुँदा कार्यान्वयनमा समस्या रहेको बताएका छन्।
सोमबारदेखि बुटबलमा सुरु भएको कृषि मेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नीति नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने गरेको बताए।
'हामी हरेक स्थानीय तहदेखि केन्द्रसम्म कृषिलाई प्राथमिकतामा राख्ने गरेका छौं। सरकारले हरेक वर्ष कृषिलाई प्राथमिकतामा राखेर नीति नियमहरू बनाउँछ। तर, हामी १८ अर्ब रुपैयाँको चामल, ९ अर्ब रुपैयाँको तरकारी आयात गर्छौं', ढकालले भने, 'यहीँ उत्पादन हुन सक्ने धेरै वस्तुहरू बाहिरबाट आयात गरेर खान्छौं। यसले के स्पष्ट पार्छ भने यहाँ नीति र कार्यान्वयनमा तालमेल छैन। कृषि मात्र होइन, सबै क्षेत्रमा यही समस्या छ।'
उनले अहिलेको तरलताको समस्या कोभिड महामारीको समयदेखि सुरु भएको र विस्तारै सहज हुने अपेक्षा व्यक्त गरे। 'कोभिडको समयमा उद्योग व्यवसाय बन्द भए। विदेशबाट रेमिट्यान्स भित्रिने क्रम पनि कम भयो। आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानीयोग्य पुँजीको अभाव भयो। तर अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन्', उनले भने।
कुनै एउटा बैंकको सञ्चालक वा बैंकले मात्र कर्जाको ब्याजदर परिवर्तन गर्न सम्भव नहुने बताउँदै उनले निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर पनि स्वतः बढेको बताए।
महासंघको तर्फबाट आफूहरुले गरेको निरन्तर पहलस्वरुप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केही कुरा सम्बोधन गरेको ढकालको भनाइ छ। विदेशबाट अनुदानप्राप्त कृषिजन्य उत्पादन आउँदा यहाँका कृषक समस्यामा रहेको ढकालले टिप्पणी गरे।
'यसबाट उपभोक्तालाई लाभ भएको छ। तर, कृषक मर्कामा छन्। यसका लागि केही संरक्षण आवश्यक छ। सँगै, हामीले आफ्नो उत्पादन पनि प्रतिस्पर्धी बनाउनुपर्छ,' ढकालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।