काठमाडौं– ट्राफिक प्रहरीले यात्रुबाट बढी भाडा असुल्ने २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँमा २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बढी भाडा लिएमा वा मिटरमा जान ट्याक्सीले नमाने तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्नसमेत अनुरोध गरेका छन्।
यस्तै सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुईपांग्रे सवारी साधनका चार हजार १९० जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
गत मंसिर २७ गतेदेखि सुरु भएको अभियानमा हालसम्म चार हजार १९० चालकहरु कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
राइड सेयरिङ गर्ने मोटरसाइकल तथा स्कुटर सडकमा अनावश्यक रोकेर ट्राफिक व्यवस्थापनका साथै आवागमनमा बाधा पुग्ने भएकाले कारबाही अभियानलाई तीव्रता दिइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।