काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्। उनले अर्धशतक समेत पूरा गर्दै उक्त रेकर्ड बनाएका हुन्।
नेपालका लागि ३३ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितले नामिबियासँग जारी खेलमा एक हजार रन पूरा गरेका हुन्। २६औं ओभरको समाप्तिमा ५६ बल खेल्दै ६१ रन बनाएका छन्।
रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक तथा ६ अर्धशतक समेत प्रहार गरेका छन्। नेपालका लागि एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि उनी नै हुन् । उनले एउटै खेलमा सर्वाधिक १ सय २६ रन बनाएका छन् ।
रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत वर्ष पपुवान्यूगिनीविरुद्धको खेलमा ७ चौका र ४ छक्काको मद्दतमा १ सय २६ रन बनाएका थिए।
नेपालका लागि शतक प्रहार गर्ने भने उनी तेस्रो खेलाडी हुन् । पूर्वक्रिकेटर पारस खड्काले १ सय १५ रनसहित शतक तथा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रनसहित शतक बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।