काठमाडौं– ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।
ग्वार्को चोकमा गत शनिबारदेखि फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।
फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिएपनि सडक जाम कम हुन सकेको छैन।
चक्रपथको बिस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो।
ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ।
कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ। सुरूमा ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ। काठमाडौं उपत्यकाको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।