काठमाडौं– बलात्कार आरोपमा केही महिना हिरासतमा बसेपछि खेलमा फर्किएका बलर सन्दीप लामिछानेले मंगलबार नामिबियासँगको खेलमा ३ विकेट लिएका छन्। दोस्रो बलमै विकेट लिएका उनले ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप विकेट लिएका हुन्।
सुरुवाती ५ ओभरसम्म सन्तोषजनक प्रदर्शन गरेका उनको बाँकी ४ ओभरमा प्रदर्शन खस्किएको थियो। खेलको ४९ र आफ्नो अन्तिम १०औं ओभरमा उनी खेलमा फर्किए।
सुरुमा २.८ को औसत रनरेटमा प्रदर्शन गरेका उनको खेल पाँच ओभरपछि भने खस्किएको थियो। त्यसपछि प्रतिओभर १० भन्दा माथिको रनरेटमा उनको बलिङ रह्यो। ६६ रन दिएका उनको समग्र रनरेट भने ६.६० रह्यो।
नेपालका लागि करण केसी सर्वाधिक ५ विकेट लिन सफल भए। १० ओभर नै बलिङ गरेका उनले ६१ रन खर्च गरे। यसैगरी नेपालका लागि सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए।
निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नामिबियाले २८५ रन बनायो। २८६ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।