काठमाडौं– काठमाडौंको बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ। यातायात मजदुर र प्रहरीबीच झडप भएपछि सो क्षेत्र तनावग्रस्त बनेको हो।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ। केहिबेर अगाडि मात्र दुई गाडी सशस्त्र प्रहरी बालाजु क्षेत्रमा परिचालन गरिएको छ।
५ पटक कारबाही भोगेपछि लाइसेन्स निलम्बन गर्न थालिएको लगायत अन्य ट्राफिक नियमको विरोधमा यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए। सो क्रममा प्रहरी र यातायात मजदुरबीच झडप भएको थियो।
यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले बताए।

झडपका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका बताइएको छ। सो क्षेत्रमा अहिले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आन्दोलनका कारण २–३ घण्टादेखि चक्रपथको आवागमन प्रभावित भएको छ। सोह्रखुट्टे, स्वयम्भू, सामाशखी लगायतका क्षेत्रबाट प्रहरीले सवारीलाई पास गराएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।