काठमाडौं– बिमाको रकम दाबी गर्न आफ्नै गाडीमा आगजनी गरेको आरोपमा १ चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरी छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले सोमबार पक्राउ गरेको हो। सोमबार राति २ बजे मधुवन नगरपालिका–४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा सेतो रंगको फोर्स गाडी आगजनी भएको भन्ने खबर इलाका प्रहरी कार्यालय ढोढरीमा आएको थियो।
प्रहरी घटनास्थल पुगेर हेर्दा लु २ ख २०८४ नम्बरको गाडीमा आगजनी भएको पाइएको थियो। उक्त घटनाको अनुसन्धानको क्रममा चालक चौधरी आफैंले बिमा रकम दाबी गर्न आगजनी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त गाडी गत माघ २० गतेदेखि बिग्रिएको थियो। मर्मत गर्न बढी रकम लाग्ने भएपछि चालकले बिमा रकम दाबी गर्न षड्यन्त्रपूर्वक ढंगले आगजनी गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।