काठमाडौं– आइतबार दिउँसो चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। एकैदिन दुईवटा चोरीमा संलग्न गिरोहलाई पक्राउ गरिएको हो।
ललितपुरमा ग्लोबल आईएमई बैंकको एटीएममा चोरी गर्न गएका दुई जनालाई पक्राउ गरेपछि अर्को चोरीको पनि पोल खुलेको हो।
आइतबार दिउँसो ललितपुरको एकान्तकुनामा रहेको ग्लोबल आईएमई बैंकको एटीएम फोड्न लागेको स्थानीयले खबर गरेपछि प्रहरी वृत्त सातदोबाटोबाट चोर समात्न प्रहरी खटियो। तर एटीएम फोड्ने दुई जना भागे।
भाग्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थान चोकबाट नियन्त्रणमा लियो। उनीहरुलाई नियन्त्रणमा लिएपछि अनुसन्धानका क्रममा अर्को चोरीको घटनाबारे पनि खुल्यो। एटीएममा चोरी गर्नुअघि उनीहरुले नै एक फोटो स्टुडियोमा पनि चोरी गरेको पाइयो।
त्यसपछि उनीहरु दुई जनासहित सोही समूहका अर्का दुई जना पनि पक्राउ परे। प्रहरीका अनुसार बैंकको एटीएममा चोरी गर्नुअघि ललितपुर महानगरपालिका–१५ ताल्चिखेलमा रहेको हासिका फोटो स्टुडियोमा चोरी गरेको पाइएको छ।
नम्बर नखुलेको ट्याक्सी प्रयोग गरी समान राखेर फरार भएको अवस्थामा ललितपुर–९ च्यासल भोलढोकास्थित उनीहरुको कोटाबाट थप दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट स्टुडियोबाट सोनी क्यामेरा एकथान, निकोन क्यामेराको प्राइम र जुम लेन्स एक/एक थान, डेल कम्प्यूटरको मोनिटर एक थान, यस्तै ट्राइपोट एक थान, लाइट स्ट्यान्ड, माइक स्ट्यान्ड ब्लुतुथ स्पिकर, उफर, पिन माइक, हार्ड ड्राइभलगायतका इलेक्ट्रोनिक सामान बरामद गरिएको छ।
पक्राउ पर्नेहरुमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका चौघरे घरभई हाल गोदावरी नगरपालिका ठेचो बस्ने २५ वर्षीय कुशल लामा, धादिङ घरभई हाल ललितपुर–९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुरको भिमफेदी घरभई हाल ललितपुर बस्ने २३ वर्षीय कान्छा राम तामाङ, महोत्तरीको बर्दिबास घर भई हाल ललितपुर–२८ सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।