काठमाडौं– हेल्मेटभित्र लुकाइ–छिपाइ ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित वीरगञ्ज–रक्सौल सडकखण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएको छ।
भारत घर बताउने २६ वर्षीय राकेश कुमार र २७ वर्षका प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेशको हेल्मेटभित्र ९ लाख र प्रसंजितको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँसमेत फेला परेको थियो।
साथै, फेला पारिएको नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।