काठमाडौं– अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (यूएसएआईडी) प्रमुख सामन्थ पावर दुई दिने भ्रमणका लागि मंगलबार बिहान काठमाडौं आइपुगेकी छन्।
पावर अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुन्। सुरक्षा परिषद्को सदस्यको हैसियत मन्त्रीस्तरिय रहन्छ। पावरको नेपाल भ्रमणमा अमेरिकाबाट पछिल्लो २० वर्षयताकै उच्चस्तरीय भ्रमण हो।
यसअघि सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावरले नेपालको भ्रमण गरेकी थिइन्। पावर काठमाडौं उत्रिनेबित्तिकै भक्तपुरको सानोठिमीस्थित आर्दश मावि पुगेकी छन्। पावरले उक्त विद्यालयमा विद्यार्थीहरुसँग अन्तक्रिया गरेकी छन्।
पावरले आफ्नो नेपाल भ्रमणका क्रममा नागरिक समाजका अगुवा, सामुदायिक समूहहरु, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने यूएसआईडीले बताएको छ। उक्त भेटमा नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गरिने प्रयास र उपलब्धिबारे छलफल हुने बताइएको छ।
यस्तै, पावरले आफ्नो भेटघाटमा नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने पनि बताइएको छ। निर्वाचनपछि बनेको नयाँ सरकारसँग यूएसआईडीको संलग्नता र प्रतिबद्धतालाई थप उजागर गर्ने पावरको उद्देश्य रहने छ।
पावरले काठमाडौंको भेटघाट तथा छलफलहरुमा संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई सुदृढ गर्न गति निर्माणका लागि केही नयाँ कार्यक्रमको पनि घोषणा गर्ने यूएसआईडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।