काठमाडौं– क्रिकेटर सन्दिप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ।
उच्च अदालत पाटनले धरौटीमा रिहा हुन गरेको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालय सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटको शुक्रबार सुुनुवाइ हुने भएको हो।
नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लामिछानेमाथि छ। उक्त आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षमै राखेर मुद्दाको फैसला हुनुपर्ने आदेश गरेको थियो।
उक्त आदेशविरुद्ध सन्दीप उच्च गएका थिए। उच्चले पुस २८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका थिए। रिहा भएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्ब समेत फुकुवा गरिसकेको छ।
१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको काठमाडौं इन होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा गत भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।
सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं नै ल्याई सो होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीसमक्ष बताएकी थिइन्।
पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको थियो।
सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको दाबी छ। उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो।
त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।