काठमाडौं– नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ। साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) तोलामा १ हजार २०० रुपैयाँले बढेसँगै सुनको मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ।
माघ महिनामै सुनको मूल्यले ३ पटक रेकर्ड राखिसकेको छ। पहिलोपटक माघ १० गते सुनको मूल्य १ लाख ६ हजार ३०० रुपैयाँ प्रतितोला पुग्दा उच्च अंकको रेकर्ड बनेको थियो। यस्तै, फागुन १२ गते प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुग्दा पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो।
बुधबार भने सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।