सडक छेउमै रहेको मेरो चिया पसलमा अनेक मानिस आउँछन्/जान्छन्। चियाको चुस्कीसँगै अनेकथरी वर्तालाप गर्छन्, पीडा पोख्छन्, प्रेमालाप पनि गर्छन्। म सबैको कुरा ध्यानपूर्वक सुन्छु। कति कुरा बुझ्छु, कति कुरा नबुझेर अक्क न बक्क पर्छु।
गरिब मुलुकका धनी जनताको हालत कतै टाटोन्मुख भएको त होइन? मेरा ग्राहकको विरक्तिपूर्ण कुरा सुन्दा नेपाली त्यो पनि काठमाडौंबासी मानसिक पीडा तथा आर्थिक अभावले चरम अवस्थामा पुगेको संकेत पाउँछु। विरक्तिएका मानिसलाई राज्यले मतलब गरेन भनेको सुन्छु।
मेरो पसलमा चिया पिउन आउनेहरु भुईंमान्छे वर्गका हुन् अरे। उनीहरुलाई रोजगारी छैन अरे। शिक्षा र स्वास्थ्य सेवामा पहुँच छैन अरे। सबै कुरा माफियाको चंगुलमा गयो अरे। राज्यको नियन्त्रणमा रहनुपर्ने शिक्षा अनि स्वास्थ्य निजी क्षेत्रलाई सुम्पेर राज्य तेल बेचेर, ठेकेदारी गरेर बसेको छ अरे। शिक्षाको शुल्क आम मानिसको पहुँचभन्दा बाहिर जाँदा राज्य मौन छ अरे। सरकारी शिक्षा प्रणाली धराशायी छ अरे अनि निजीले जति शुल्क लिए पनि आँखामा पट्टि बाँधिएको छ अरे।
मेरा ग्राहक गफिन्छन्- नेपालको संविधानमा स्वास्थ्य सेवा नागरिकको मौलिक हक भनिएको तर स्वास्थ्य क्षेत्र निजीकरण उन्मुख छ। अस्पतालमा नैतिकताको खडेरी छ। बिरामीलाई अनावश्यक जाँच गराएर कमिसनको खेती हुन्छ। अनि भुईंमान्छे अस्पताल जाँदा लाखौँ खर्च लाग्छ भनेर रोग पालेर बसेका छन्। जथाभावी औषधिको प्रयोग बढेर किड्नी फेल हुनेको संख्या ह्वातै बढेको छ। तर कुनै नियमन छैन।
अस्पताल हुँदा बिरामीको घर-खेत जान्छ। निजी स्वास्थ्य सेवामा भुईंमान्छेको पहुँच छैन। रुनु अनि रोग पाल्नु नै नियति बनेको छ। राज्य संयन्त्रको बीमा कार्यक्रम छ तर पैसा सोधभर्ना नभएर सूचीकृत अस्पतालले सेवा नै दिँदैनन्- अर्का ग्राहक बोल्छन्।
अहिलेको ताजा चर्चा- एक जना व्यापारी तर अत्यन्त पीडित व्यक्तिले आत्मदाह गरे। कोही अनुसन्धानकर्ता जस्तो गरी विद्वता छाँट्छन्, कोही सहनुभूतिसहित प्रसंग उठाउँछन् भने कोही जे भए पनि आत्मदाह गर्नु नहुने भनेर रोष प्रकट गर्छन्। गफैगफमा अर्को एक टेबलबाट आवाज आयो- देश श्रीलंका जस्तै हुँदैछ। संघीयताले खर्च एकदमै बढेको छ। मन्त्री, सांसदको संख्या धेरै भएर राज्यको ढुकुटी रित्तिँदैछ। देश टाट पल्टदैछ।
अर्को भित्ता छेउको टेबलबाट आवाज आयो- बैंकलाई कसैको नियन्त्रण टुटेको छ। जथाभावी ब्याजदर बढाएको छ अनि वार्षिक नाफा बढाएको छ। जनता चुसेको छ, आफू मोटाएको छ, जनतालाई आत्महत्या अनि आत्मदाह गर्न बाध्य बनाउनेमा बैंकको अनियन्त्रित ब्याजदर पनि हो। जनताको दैनिक जीवनमै बैंकको ब्यजदरले ठूलो असर पर्दा समेत राज्य गान्धारी भएको छ। बरु जनता मरुन् तर बैंकलाई नियन्त्रण नगर्ने नीति राज्य सञ्चालकको छ।
चिया गफाडी बोल्दै जान्छन्- बैंकको अनियन्त्रित ब्याजले गर्दा व्यवसाय बन्द हुँदैछन्। पैसाको क्रयशक्ति घट्दैछ अनि जनता दिनानुदिन गरिबी तथा मानसिक रोग उन्मुख हुँदै आत्मदाह तथा आत्महत्या उन्मुख भएका छन्। ब्याजदर एक अंकमा हुनु पर्ने मागलाई अनदेखा गर्दै नियमनकारी निकाय मौनव्रतमा छ।
आफैंलाई धिक्कार्दै थिए एक मनुवा- यो राज्य कस्तो हगी? हवाई जहाज जस्तो सम्वेदनशील यातायात थोत्रो ल्याए पनि हुने! थोत्रो जहाज ल्याउन दिएर नागरिकको ज्यान लिने कस्तो राज्य हो? धिक्कार छ मलाई, कस्तो देशमा जन्मिएछु!
मेरा ग्राहकको चिन्ता छ- सरकार अनियन्त्रित महँगी, भ्रष्टाचार, ब्याजदर, बेथिति, स्वास्थ्य तथा शिक्षाको सेवाशुल्क, नैतिक पतन, व्ययभार, व्यापार घाटा तर राज्यविलासी सामग्री आयातमा रोक लगाउँदैन। देश भित्रका साधन-स्रोतको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिँदैन। बिजुलीको सवारीमा कर थोपर्छ। यसरी देश कहाँ पुग्छ?
कोही-कोही आशावादी पनि देखिन्छन्- हरेक निराशापछि नयाँ सरकार आएको छ, केही राम्रो नीति लिइपो हाल्छ कि! बैंकको ब्याज, महँगी, अनियमितता नियन्त्रण गरी लोककल्याणकारी राज्य बनाउन पहल गर्छ कि! नयाँ सोचसहित नयाँ पार्टी आएका छन्, उनीहरुले निराशाको कालो बादल हटाएर यो देश बस्न लायक, बाँच्न लायक बनाउँछन् कि! देश माफियाको नियन्त्रणबाट हटिपो हाल्छ कि!
जे-जस्ता कुरा भए पनि मेरो चाहना भने, दूधको भाउ घटोस्, चिया बनाउने सबै सामान सस्तोमा पाइयोस् र मेरो पसलमा चिया पिउने ग्राहकको कमी कहिल्यै नहोस्, यत्ति हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।