काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँ बढेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले नै घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
३ दिनसम्म स्थिर रहेको चाँदीको मूल्य बुधबार भने सामान्य बढेको छ। तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य बुधबार प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।