काठमाडौं– विभिन्न चोरीमा संलग्न भएको आरोपमा धनुषाका पाँच जना पक्राउ परेका छन्। उनीहरु सबैलाई माघ १६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
माघ १६ गते जनकपुरधाम–१४ का रतिश गुप्तालाई मोबाइल चोरी गरेको आरोपमा पक्राउ गरिएको छ। सोही दिन बिहान ११ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२ शिवचोकमा विनोद गामीले सञ्चालन गरेको कपडा पसलबाट छेउमा राखेको मोबाइल चोरी गरेर गुप्ता भागेका थिए।
गामीको उजुरीपछि प्रहरीले सोही दिन पक्राउ गरेको थियो। यस्तै माघ १६ गते नै धनुषाबाटै मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ परेका छन्। महोत्तरीको बर्दिवास नगरपालिका–१ का २९ वर्षीय राजकुमार श्रेष्ठको ज. ६ प. ७७१४ नं. को १५० सि.सि को कालो रङको पल्सर मोटरसाइकल चोरी भएको थियो।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढ मोडेल अस्पतालको छेउमा पार्किङ गरी राखेको उक्त मोटरसाइकल चोरी भएपछि खोजबिन गर्दै जाँदा प्रहरीले सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ का रविन्द्रकुमार यादव र उनका साथी २२ वर्षीय चन्दनकुमार यादवलाई मोटरसाइकलसहित पक्राउ गरेको हो।
यस्तै कोठाभित्र राखिएको पानी तान्ने मोटर, पेन्ट, आइरन, लत्ताकपडा लगायतका सामान चोरी गरेको आरोमा धनुषा प्रहीले माघ १६ गते नै दुई जनालाई पक्राउ गरेको छ।
माघ १४ गते राति जनकपुरधाम उपमहानगरपालिका–४ का सञ्जीवकुमार रायको घरबाट मालसामान चोरी गरी फरार भएका २४ नम्बर वडाका सरोजकुमार महतो र श्यामसुन्दर महतोलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।