काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई पाङ्ग्रे सवारीमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।
मंगलवार भएको एक कार्यक्रममा श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्व बुझ्नुपर्ने भएकाले यसका लागि जनचेतनामुलक कार्यक्रम चलाउनुपर्ने बताए। उनले नागरिक स्वयम्ले आफ्नो सुरक्षा आफै गर्नका लागि मोटरसाइकलमा अनिवार्य हेलमेट लगाउन सचेतना दिन जरुरी भएको स्पष्ट पारे।
‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो,’ उनले भने। सडक दुर्घटनावाट अगाडि–पछाडि बस्ने दुवैले लगाउँदा सुरक्षित हुने उनको तर्क थियो।
छलफलमा सहभागी एमाले नेता तथा सांसद योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधन नै पर्ने गरेकाले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाइरहेको बताए।
कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। उनीहरुले सडक दुर्घटना कम गर्न सकिने भएकाले त्यसका लागि सचेतना व्यापक रुपमा जगाउन आवश्यक भएको बताए। विगतमा पनि यस्तो अभ्यास गरिएको थियो। तर पछि फिर्ता लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।