काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं विश्वविद्यालयको धुलिखेल हातामा कुल बलराम-तारा इनर्जी ब्लकको उद्घाटन गरेका छन्। दुई करोड, ६८ लाख, ९१ हजार ८६४ रुपैयाँ लागतमा निर्माण गरिएको सो ब्लकको मंगलबार उद्घाटन गरिएको हो।
स्वर्गीय बलराम प्रधानको परिवारबाट प्राप्त ४५ लाख सहयोगमा सुरु भएको सो भवनलाई सम्पन्न गर्न इनर्जी क्षेत्रमा लामो समयदेखि नेपालमा रहेर काम गरिरहेका अमेरिकी नागरिक डान जाट्जेनले ५ हजार डलर सहयोग गरेका थिए। बाँकी अपुग स्रोत विश्वविद्यायलले जुटाएको थियो।
पछिल्ला दिनमा विश्वविद्यायलले प्राथमिकतामा राखेको उर्जाका क्षेत्रमा काम गर्ने गरी उक्त भवनको उपयोग गरिने बताइएको छ। तीन तले उक्त भवनको पहिलो तला आधारभूत मेकानिकल इन्जिनियरिङका लागि, दोस्रो तला इनर्जी सिस्टमका लागि र तेस्रो तल ग्रिन हाइड्रोजनका क्षेत्रमा अध्ययन र अनुसन्धानका लागि प्रयोग हुनेछन्।
उक्त अवसरमा बोल्दै मन्त्री पौडेलले विश्वले नै चिन्ने अवस्थामा रहेको र नेपालले गौरव गरेको काठमाडौं विश्वविद्यालयले अब नेपालीले पढ्न भनेर विदेश जाने क्रमलाई रोक्न र नेपालमा विदेशी विद्यार्थी ल्याउन काम गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।