काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार लामिछाने १०:३० बजे बालुवाटार पुगेका हुन्।
नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलापछि एकैपटक उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सदस्य र पार्टी सभापति पद गुमाएका लामिछाने फेरि पुरानै जिम्मेवारीमा फर्किन इच्छुक छन्।
सर्वोच्चको फैसलापछि पुन: नेपाली नागरिकता लिएर पुन: पार्टी सभापति बनेका लामिछाने गैरसांसद मन्त्रीको रुपमा सरकारमा पुरानै जिम्मेवारीमा फर्किन इच्छुक रहेको उनीनिकट नेताहरुकले बताउने गरेका छन्।
केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन दबाब दिएका थिए। तर प्रधानमन्त्री प्रचण्डले भने गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भन्दै आएका छन्।
प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रका नेताहरुले भने गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्नुपर्ने बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय छाड्न नसकिने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।