काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारी क्षेत्रको वित्तिय व्यवस्थापनका विषयमा छलफल भएको छ।
सोमबार प्रमुख शाहको कार्यकक्षमा भएको भेटका क्रममा महानगरको कार्य क्षेत्रका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि प्रबन्ध गर्नुपर्ने कानुनी व्यवस्थाका विषयमा कुराकानी भएको महानगरले जनाएको छ।
कुराकानीका क्रममा प्रमुख शाहले सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे। यसलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंक र विज्ञहरुसँग सहकार्य गर्न तयार रहेको प्रमुख शाहको भनाइ छ।
‘सहकारीहरुमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्छ’ भेटमा गभर्नर अधिकारीले भने, ‘महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउन सक्छ।’
काठमाडौं महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी छन्। तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन्। २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षा मुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक/एक वटा र अन्य ५ वटा सहकारी छन्।
काठमाडौं कार्य क्षेत्र भएका सहकारीहरु महानगरको सहकारी विभागमा दर्ता भएर सञ्चालन हुन्छन्। सहकारी वित्तिय जोखिमका उजुरीहरु पर्ने गरेका छन्।
यस्ता उजुरीहरुमा बचत फिर्ता, ब्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन्। घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या भएको महानगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।