काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री भएपछि बसेको पहिलो क्याबिनेटनको निर्णय हेरेका छन्। यद्यपि, यो निर्णय भने कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
आफू पहिलोपटक प्रधानमन्त्री भएपछि बसेको पहिलो क्याबिनेटबाट जनयुद्ध र जनआन्दोलनका प्रक्रियामा शहीद भएकाहरुलाई पार्टीगत र आस्थागत रुपमा विभेद नगरी शहीद घोषणा गर्ने निर्णय लिइएको उनको भनाइ छ।
‘तर त्यो निर्णय केही ‘टेक्निकल’ कारणले कार्यान्वयनमा जान सकेको थिएन। र अहिले तेस्रोपटक प्रधानमन्त्री हुँदा मैले पहिलो क्याबिनेटमा गरेको निर्णयको माइन्युट हेर्न मन लाग्यो। र मैले यो पटक मैले प्रधानमन्त्रीको हैसियतले त्यो क्याबिनेटको ‘म्याइन्युट’ पल्टाएर हेरेँ। दराजमा खोज्न त एकछिन समय लाग्यो। र शहीद घोषणा गरिएको डकुमेन्ट मैले फेला पारेँ,’ सोमबार ‘राष्ट्रिय शहीद तथा बेपत्ता स्मारक’ उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले भने।
२०६४ चैतमा संविधान सभाको निर्वाचनबाट तत्कालीन नेकपा माओवादी सबैभन्दा ठूलो दल भएको थियो। सो दलका अध्यक्ष प्रचण्डले संविधान सभाको तेस्रो ठूलो दल एमाले लगायतका दलहरुको समर्थनमा सरकार गठन गरेका थिए। २०६५ साउनमा प्रधानमन्त्री निर्वाचित भएका उनी २०६६ वैशाखमा सरकारबाट बाहिरिएका थिए।
प्रचण्डले नेपाली जनताले निकै ठूलो उत्साह र उमंगको साथ आफूले नेतृत्व गरेको पार्टीलाई त्यतिबेला देशकै सबैभन्दा ठूलो पार्टीको रुपमा अगाडि ल्याइदिएको हुनाले आफूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।