काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठकका लागि तोकिएकै समयमा उपस्थित हुनुपर्ने नियम सुरु गरेका छन्। सोमबार एक कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस विषयमा जानकारी दिएका हुन्।
‘मैले धेरै लामो बोल्न सक्ने स्थिति छैन। ४ बजेदेखि क्याबिनेट छ। मैले क्याबिनेटमा के नियम बनाएको छु भने अब कसैले ढिलो गर्नै हुँदैन। ठीक टाइममा। जतिबेला भन्यो त्यतिबेलै आउनुपर्ने भनेको छु मैले नै। त्यसैले म क्याबिनेटमा जानु छ’, सोमबार ‘राष्ट्रिय सहिद तथा बेपत्ता स्मारक’ उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले भने।
आवश्यकता अनुसार जुनसुकै समयमा क्याबिनेट बस्न सक्छ। तर, सामान्यतया क्याबिनेट सोमबार र बिहीबार बेलुकी बस्ने गरेको छ। तर, तोकिएकै समयमा बस्ने भन्दा पनि प्रधानमन्त्रीले अन्य मन्त्रीलाई कुराइदिने गरेको विगतका मन्त्रीहरुको अनुभव छ।
प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल हो। यसअघि उनी २०६५ र २०७३ मा प्रधानमन्त्री भएका थिए। पछिल्लो कार्यकाल भने गत पुसदेखि सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।