काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भएको बताएका छन्।
सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महराले यस्तो बताएका हुन्। उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको बताए।
‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन। यो सरकारको विषय हो। गृहमन्त्री को हुन्छ, को हुन्न? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो। यो पार्टीले टुंग्याउने कुरा होइन। स्थायी कमिटीमा त्यो विषयमा पर्सि छलफल होला।’
सर्वोच्च अदालतको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका थिए। सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले आवश्यक निर्णय गरेका छैनन् भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दाबी नछाडने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।