धनगढी– विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालको स्थिति सुधार भए पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको भोकमरीको स्थितिमा सुधार हुन सकेको छैन।
‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१औं स्थानमा छ। सन् २०१४ मा नेपालको अंक २१.२ थियो। सात प्रदेशमध्ये भोकमरीको स्थिति सबैभन्दा कमजोर कर्णाली प्रदेशमा रहेको छ भने दोस्रोमा सुदूरपश्चिम प्रदेश रहेको छ। कर्णाली प्रदेशको भोकमरीको दर ४७.८ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको भोकमरीदर ४०.९ छ।
यस्तै, मधेस प्रदेशको भोकमरी दर ३४.२, लुम्बिनी प्रदेशको ३५.५, प्रदेश १ को २४.९, बागमती प्रदेशको २२.९ र गण्डकी प्रदेशको २२.६ प्रतिशत रहेको छ।
कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी र मधेस प्रदेशका एक तिहाइ भन्दा धेरै बालबालिकाले पर्याप्त पोषण पाउँदैनन्। यी क्षेत्रमा बहुआयामिक गरिबीको दर उच्च रहेका कारण बालबालिकामा कुपोषण दर पनि उच्च भएको प्रतिवेदनमा उल्लेख छ। कठिन भौगोलिक अवस्था, कमजोर विकास पूर्वाधार, सञ्चार सुविधा र जनचेतनाको कमी जस्ता कारणबाट पौष्टिक खाद्यन्नको आवश्यकता पूर्ति गर्न कठिन भएको पनि प्रतिवेदनमा उल्लेख छ।
प्रदेशमा खाद्य अपर्याप्तता कायमै
सुदूरपश्चिम प्रदेशमा सन २०२२ को अक्टोबरसम्म ४ प्रतिशत परिवारमा खाद्य खपत कमजोर रहेको पाइएको छ। ‘ग्लोबलको प्रभावको आकलन कृषि र खाद्य संकट नेपालमा सुरक्षाः घरायसी जीविकाको सातौं चरण, खाना, सुरक्षा र जोखिम सर्वेक्षण २०२२’ अनुसार यस प्रदेशमा ८० प्रतिशत घरपरिवारले खाद्य खपत गरेका छन्।
सो प्रतिवेदनअनुसार ४.४ परिवारको खाद्य खपत कमजोर र १५.७ प्रतिशत घरपरिवारको खाद्य खपत सीमा रेखामा पुगेको छ।
प्रदेशमा अनाज औसतमा ७ दिन, दाल ४.४, दूध ३.३, मासु १.६, तरकारी ४.१, फलफुल १.८, तेल ६.८ र चिनि ३.७दिन खपत हुने गरेको छ। सो अवधिमा ६.६ प्रतिशत घरपरिवारमा खाद्य अपर्याप्तता रहेको सो तथ्याङ्कमा उल्लेख छ।
सर्वेक्षण अनुसार ४ प्रतिशत परिवारले बजारमा खाद्यान्न अभाव, ६५ प्रतिशत परिवारले खाद्यान्न खरिद गर्न रकम अभाव, ७ प्रतिशतको बजारमा पहुँच नभएको, १७ प्रतिशतले मूल्यवृद्धि, ७ प्रतिशतको घरमा खाद्यान्न अपर्याप्तता रहेको देखाएको छ।
प्रदेशमा २४.९ प्रतिशत परिवारले जीविकोपार्जन तनाव, ३.८ प्रतिशतले अभावको तनाव र १०.५ प्रतिशतले खाद्यान्नको आपत्कालीन जीविकोपार्जनको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।
सुदूरपश्चिमका ५१.३ प्रतिशत घरपरिवारले मुख्यतया आफ्नै उत्पादनबाट खाना उपभोग गर्दै आएका छन् भने ४८.३ प्रतिशत परिवारले बजारबाट खरिद तथा ४ प्रतिशतले उपहार वा सहयोग माग्नुपर्ने अवस्था तथ्याङ्कमा देखाइएको छ।
प्रदेशमा १ महिनाभन्दा बढी अवधि खाद्यान्न मौज्दात ४१.७ प्रतिशत घरपरिवारले राखेका छन् भने ८.७ प्रतिशत परिवारले खाद्यान्न मौज्दात नराखेको देखाइएको छ। यस्तै एक महिनाका लागि खाद्यान्न मौज्दात राख्ने घरपरिवार २८.३ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ।
प्रदेशका ४० प्रतिशत घर परिवारले ३ महिनाको आम्दानीमा प्रभाव पारेको सर्वेक्षणमा उल्लेख छ भने ७.९ प्रतिशत परिवारको मात्र आम्दानी वृद्धि भएको छ। खाद्यान्नको मूल्यवृद्धिका कारण ४८.७ प्रतिशत, पेट्रोलिय पदार्थ तथा यातायात मूल्यवृद्धि ३८.९ प्रतिशत, रोजगारी गुमाउँदा १०.६ प्रतिशत, बिरामी, दुर्घतना तथा मृत्युले ७.९ प्रतिशत, सुख्खा तथा गर्मीले ७.३ प्रतिशत, विपत्ले २.९ प्रतिशत र अन्य कारणले आम्दानीमा कमी आएको तथ्याङ्कमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।