काठमाडौं– अष्ट्रेलियाका विभिन्न सहरहरूमा यतिबेला फिल्म ‘राधा’ले यात्रा गरिरहेको छ।
यात्रामा छन् फिल्मका निर्देशक सुवर्ण थापा। ‘मलामी’ ‘सुनगाभा’ जस्ता उत्कृष्ट फिल्म बनाएका सुवर्णले ‘राधा’बाट राम्रो समीक्षा त पाए।
तर नेपालका हलमा प्रदर्शनको हप्तादिनमै स्थगित गरेका सुवर्णले फिल्म लिएर डेढ महिनाअघि अष्ट्रेलिया गए। सिड्नी र मेलबर्नमा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको फिल्म त्यसपछि विभिन्न सहरमा प्रदर्शन भयो।
क्रेगिवर्नमा प्रदर्शनको बेला दर्शकको उत्साहजनक उपस्थिति थियो।
अब ३ फेब्रुअरीमा एडिलेड र लगत्तै क्विन्सल्याण्डमा सो हुनेछ। निर्देशक थापाका अनुसार सिड्नीमा फेरि प्रदर्शन हुनेछ। न्युक्यास्ट्ली, क्यानबेरा हुँदै थप सहरमा पनि प्रदर्शन हुने क्रम भइरहेको छ। ‘नेपाली तथा यहाँका दर्शकहरूले फिल्म मन पराइदिनुभएर सो थपिरहेका छौं,’ निर्देशक थापा भन्छन्।
फिल्मबारे अष्ट्रेलियाका स्थानीय पत्रिकामा समाचार तथा समीक्षाहरू पनि आइरहेका छन्।
फिल्ममा हराइरहेको श्रीमान्को खोजी गर्न सहर हिँडेकी महिलाको कथा छ। फिल्ममा सृष्टि श्रेष्ठ, सौगात मल्म, खगेन्द्र लामिछाने लगायतका कलाकारको मुख्य अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।